
बालेन्द्र शाह नेतृत्वको सरकारले शनिबारदेखि काठमाडौं उपत्यकाका सुकुम्बासी बस्ती खाली गराउन सुरु गरेको छ। पहिलो दिनको अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनका राजनीतिक सल्लाहकार असिम शाहले जानकारी दिएका छन्।

काठमाडौं उपत्यका विकास प्राधिकरण का अनुसार शान्तिनगर, गैरीगाउँ, थापाथली, गोठाटार र मनोहरा टोलमा गरी ८७१ अनधिकृत घरधुरी रहेका छन्। स्थानीयको सहयोगपछि थापाथली क्षेत्रको बस्ती सौहार्दपूर्ण रूपमा खाली गराइएको बताइएको छ।

हालसम्म ६८ परिवार सरकारको सम्पर्कमा आइसकेका छन् भने अन्य स्थानबाट पनि आउने क्रम जारी छ। ती परिवारलाई दशरथ रंगशाला मा ल्याई विवरण संकलन गरी अस्थायी रूपमा होटलमा राख्ने तयारी गरिएको छ।

सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरेर दुई साताभित्र नागार्जुनमा सरकारी आवासमा स्थानान्तरण गर्ने र दीर्घकालीन व्यवस्थापन अघि बढाउने जनाएको छ।






























