
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत विभिन्न प्रतिष्ठान, समिति र बोर्डका १९३ पदाधिकारी पदमुक्त भएका छन्। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ को दफा (२) को उपदफा (१) अनुसार उनीहरू पदमुक्त भएका हुन्।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पदमुक्त भएका पदाधिकारीलाई जानकारी गराउने पत्राचार प्रक्रिया सुरु गरिएको छ। उनले अध्यादेश लागू भएको दिनदेखि नै पद स्वतः रिक्त भएको स्पष्ट पारे।

पदमुक्त हुने निकायमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बिमा बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल मेडिकल काउन्सिल तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद् लगायत रहेका छन्।

मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गर्दै प्रक्रिया अघि बढाइरहेको जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते उक्त अध्यादेश जारी गरेका थिए। सरकारको निर्णयसँगै स्वास्थ्य क्षेत्रमा नयाँ प्रशासनिक पुनर्संरचना हुने अपेक्षा गरिएको छ।






























