
विराट कोहलीको विस्फोटक अविजित शतकीय इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स बेन्गलुरु (आरसिबी) ले आइपिएलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ। यो सानदार जितसँगै आरसिबी अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

रायपुरमा कोलकाताले दिएको १९२ रनको चुनौतीपूर्ण लक्ष्य आरसिबीले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। आरसिबीका लागि ६० बलमा १०५ रनको आक्रामक पाली खेलेका कोहली ‘प्लेयर अफ द म्याच’ चुनिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रन बनाएको थियो। उसका लागि अङ्ककृष रघुवंशीले ४६ बलमा ७१ रन र रिंकु सिंहले २९ बलमा अविजित ४९ रनको उत्कृष्ट योगदान दिए पनि टोलीलाई जिताउन सकेनन्। कोहलीको लयका अगाडि कोलकाताका बलरहरू निरिह देखिए।

यो जितसँगै १२ खेलबाट १६ अङ्क जोड्दै आरसिबी शीर्ष स्थानमा रहँदा समान अङ्क भएको गुजरात रनरेटमा दोस्रो स्थानमा छ। पराजित कोलकाता ९ अङ्कसहित आठौँ स्थानमा खस्किएको छ।






























