
मेडिकल व्यवसायी दुर्गा प्रसाईं को रिहाइको माग गर्दै वीरगन्जमा प्रदर्शन गरिएको छ। उनका समर्थकहरूले मंगलबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि नाराबाजी गर्दै तत्काल रिहाइको माग गरेका हुन्।

प्रसाईं सोमबार अपराह्न सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका थिए। उनलाई राति करिब ८ः३० बजे सिद्धार्थ दियालो लर्ड्स होटलबाट पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पर्साका प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पत्रकारहरूसँगको भेटमा प्रसाईंले सरकारको कडा आलोचना गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो। मंगलबार बिहान गहवामाई मन्दिर दर्शनसहित वीरगन्जको मेनरोड विस्तारका क्रममा प्रभावित बनेका घरधनी तथा पीडितहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको थियो। प्रसाईं पक्राउपछि वीरगन्जको राजनीतिक तथा सामाजिक माहोल थप तातिएको देखिएको छ।

































