
काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलबाट ९ जना विदेशी नागरिक पक्राउ परेका छन्। बाटोमा हिँड्ने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक दुःख दिने र अश्लील क्रियाकलाप गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बुधबार ९ जना विदेशी महिलालाई नियन्त्रणमा लिएको पुष्टि गर्नुभयो। पक्राउ पर्नेहरूमा बंगलादेश, भियतनाम र युगाण्डाका नागरिक रहेका छन्।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ठमेल क्षेत्रबाट समातेको हो। प्रवक्ता भट्टराईका अनुसार ती विदेशी महिलाहरूले ठमेलका सार्वजनिक सडकमा हिँड्ने सर्वसाधारण पुरुष तथा पर्यटकहरूको बाटो छेक्ने गरेका थिए।

उनीहरूले अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाइ गर्दै दुःख र हैरानी दिने गरेको जनगुनासो आएपछि प्रहरीले यो कदम चालेको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।































