
जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न प्रदेशमा मौसम परिवर्तनशील रहने जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा आज दिनभर सामान्यतया बादल लाग्नेछ भने मधेश प्रदेशसहित बाँकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने अधिकांश ठाउँमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। मधेशसहित यी प्रदेशका तराई क्षेत्रमा समेत थोरै स्थानमा वर्षा हुन सक्ने विभागले जनाएको छ। गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत देखिएको छ।

लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ। साथै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो लहर (Heat Wave) जारी रहने सम्भावना रहेको विभागले चेतावनी दिएको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बादल लाग्नेछ भने कतिपय स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको जोखिमसमेत रहेको छ।































