
सुदूरपश्चिम प्रदेश प्रहरीले भारतमा भएको ठूलो चोरी घटनासँग सम्बन्धित गरगहना र नगद बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त अनुसन्धानपछि दिल्लीमा भएको चोरीको घटनामा संलग्न समूहलाई पक्राउ गर्न सफल भएको हो।

प्रहरीका अनुसार भारतको दिल्लीस्थित राजेन्द्रनगरमा फागुन १३ गते संजयकुमार माखीजाको घरमा चोरी भएको थियो। सोही घरमा काम गर्ने बाजुराका उपेन्द्र रावतसहितको समूहले चोरी गरेको खुलेपछि भारतीय प्रहरीमार्फत नेपाल प्रहरीमा उजुरी परेको थियो। अनुसन्धानका क्रममा रावतसहित तीन जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बाजुराका लोकेश धामी र चोरीको सामान खरिद गर्ने अछामका अर्जुन सुनार समेत रहेका छन्। उनीहरूको साथबाट हिरा, मोती, सुनचाँदीका गरगहना, विभिन्न देशका मुद्रा तथा घडीसहित करिब २ करोड १० लाखभन्दा बढी मूल्य बराबरको सामान बरामद गरिएको छ।


डीआईजी ओमबहादुर रानाका अनुसार सुन, हिरा, चाँदीका गरगहना तथा नगदसहित ठूलो परिमाणमा सम्पत्ति फेला परेको हो। बरामद सामान जनप्रतिनिधि र सरोकारवालाको रोहबरमा सम्बन्धित धनीलाई बुझाइएको छ।
एसपी नरेन्द्र चन्दका अनुसार पीडित भारतीय नागरिकले नेपाल प्रहरीको सक्रियताको प्रशंसा गरेका छन्। चोरीका केही सामान अझै फेला नपरेको र संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
































