
सङ्घीय संसद्का दुवै सदनको बैठक आज (बुधबार) छुट्टाछुट्टै समयमा बस्ने भएको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सम्बन्धी सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ। साथै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी राष्ट्रियसभामा पनि अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुका साथै ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले ‘चलचित्र विधेयक, २०८२’ सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यता कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा रासायनिक मलको आपूर्ति, मौज्दात र वितरण प्रणालीबारे सम्बन्धित निकायसँग विस्तृत छलफल गरिने सचिवालयले जनाएको छ।
































