जनताको बलिदानको उपलब्धि : १९औँ गणतन्त्र दिवस आज देशभर भव्य रूपमा मनाइँदै

Image
Nisarga Hospital

नेपाली जनताको दशकौँ लामो सङ्घर्ष, त्याग र बलिदानको ऐतिहासिक उपलब्धिका रूपमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको १९औँ दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। २०६५ साल जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। सोही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ।

CP Hospital Dhangadhi

तत्कालीन सात राजनीतिक दलको नेतृत्वमा भएको शान्तिपूर्ण जनआन्दोलन तथा नेकपा (माओवादी) को सशस्त्र आन्दोलनको उपलब्धिका रूपमा मुलुकले गणतान्त्रिक शासन व्यवस्था प्राप्त गरेको हो। गणतन्त्र स्थापनासँगै नेपाली जनताले नागरिक सर्वोच्चता, स्वतन्त्रता, समावेशी समानुपातिक लोकतन्त्र तथा सामाजिक न्यायको अधिकार सुनिश्चित गरेका थिए।

गणतन्त्र दिवसलाई जनताले वंशीय शासनमाथि विजय हासिल गरेको उत्सवका रूपमा समेत लिइन्छ। लोकतान्त्रिक गणतन्त्रले जनतालाई राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गर्दै समुन्नत राष्ट्र निर्माणको मार्ग तय गरेको विश्वास गरिएको छ। शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षा तथा गरिबी अन्त्यजस्ता आधारभूत विषयमा जनअपेक्षा पूरा गर्नु गणतन्त्रको मुख्य दायित्वका रूपमा रहेको छ।

nawajiwan
Attariya Hospital

यस वर्षको गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ अधिकारी, राजनीतिक दलका नेता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। समारोहमा लोकतन्त्रका लागि सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरिनुका साथै लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षमा योगदान दिने अग्रजहरूको स्मरण गरिने कार्यक्रम रहेको छ।

विभिन्न राजनीतिक दलका नेताहरूले गणतन्त्रलाई केवल राजनीतिक व्यवस्था नभई नागरिक अधिकार, समृद्धि र लोकतान्त्रिक संस्कृतिसँग जोडिएको जीवनशैलीका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।