
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गणतन्त्रलाई नेपाली जनताको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभएको छ।

१९औँ गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र केवल शासन प्रणाली परिवर्तन नभई जनताको सार्वभौम अधिकार, आत्मसम्मान, समानता र लोकतान्त्रिक आकांक्षाको विजय भएको स्पष्ट पार्नुभयो। वि.सं. २०६५ जेठ १५ गते स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रले राज्य सञ्चालनमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरेको उहाँको भनाइ थियो।
मुख्यमन्त्री शाहले गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। परिवर्तनका पक्षमा उभिने राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकप्रति उहाँले सम्मान व्यक्त गर्नुभयो।


उहाँले सुदूरपश्चिमलाई प्राकृतिक स्रोत, जैविक विविधता, कृषि, पर्यटन, जलस्रोत, जडीबुटी र सीमापार व्यापारका दृष्टिले अत्यन्त सम्भावनायुक्त प्रदेशका रूपमा चित्रण गर्नुभयो। भारत र चीनजस्ता ठूला आर्थिक शक्तिसँगको भौगोलिक निकटताले यस क्षेत्रलाई व्यापार तथा लगानीको केन्द्र बनाउने अवसर रहेको उहाँको भनाइ थियो।
प्रदेश सरकारले उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले सुशासन, पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने प्रतिबद्धता जनाउनुभयो।
अन्त्यमा मुख्यमन्त्री शाहले गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र सामाजिक सद्भाव कायम राख्दै समृद्ध नेपाल निर्माणमा सबैलाई एकजुट हुन आह्वान गर्नुभयो।
































