
चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका छन्। नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार जेठ १३ भित्र दरखास्त संकलन गरिएको हो।

आवेदकहरूमा पूर्व उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, पूर्व स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहित प्रा.डा. गेहनाथ बराल, प्रा.डा. दिनेशकुमार लम्साल, प्रा.डा. दीपेन्द्र श्रेष्ठ, प्रा.डा. देवेन्द्रबहादुर खत्री र सहप्रा.डा. प्रमोदकुमार यादव रहेका छन्। यस्तै प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, प्रा.डा. सुरज बज्राचार्य र प्रा.डा. शैलेश प्रधानले पनि आवेदन दिएका छन्।

समितिले आवेदकहरूको कार्ययोजनासहितको सोचपत्र प्रस्तुति र अन्तर्वार्ताका लागि जेठ २६ र २७ गतेको समय निर्धारण गरेको छ। चयन प्रक्रियापछि योग्य उम्मेदवारलाई उपाध्यक्ष पदमा सिफारिस गरिनेछ।


































