
जल तथा मौसम विज्ञान विभागले देशभर बढ्दो अत्यधिक गर्मीलाई ध्यानमा राख्दै तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गरेको छ। विभागले तराईका १४ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गर्दै आगामी तीन दिनसम्म अवस्था थप जटिल हुन सक्ने चेतावनी दिएको छ।

मौसम पूर्वानुमान महाशाखाले बुधबार अपराह्न जारी गरेको बुलेटिनअनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका विभिन्न स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्ने सम्भावना उच्च छ। मौसमविद् सरोज पुडासैनीका अनुसार भैरहवामा आजै तापक्रम ४१ डिग्री सेल्सियस र नेपालगञ्जमा ४० डिग्री सेल्सियस मापन गरिएको छ, जसले तातो लहरको तीव्रता स्पष्ट देखाउँछ।
महाशाखाले मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा मध्यम स्तरको तातो लहर रहने तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई भूभागमा “तातो दिन” को अवस्था रहने सम्भावना रहेको जनाएको छ। अत्यधिक गर्मीका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।


विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (पश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका नागरिकलाई विशेष सतर्क रहन अनुरोध गरेको छ। साथै कञ्चनपुर, कैलाली, चितवन, सुनसरी, मोरङ र झापा लगायतका जिल्लामा पनि अवस्था परिवर्तनशील रहेकाले नियमित अद्यावधिक जानकारी लिन सुझाव दिइएको छ।
तातो लहरका कारण थकान, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बान्ता हुने, मांसपेशी दुख्ने तथा बेहोस हुने जस्ता समस्या देखिन सक्ने भएकाले सजग रहन आवश्यक छ।
विशेषज्ञहरूले अत्यधिक गर्मीमा घरभित्र वा चिसो स्थानमा बस्न, दिउँसोको चर्को घाममा बाहिर ननिस्किन, हल्का सुतीका कपडा लगाउन, टाउको छोप्न टोपी प्रयोग गर्न तथा प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिएका छन्। स्वास्थ्य समस्या देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिन पनि आग्रह गरिएको छ।
































