
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल ले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशङ्कर सँग भेटवार्ता गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन्।

भेटका क्रममा मन्त्री खनालले भारत नेपालको सबैभन्दा महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताए। उनले आर्थिक, व्यापारिक तथा विकास सहकार्यलाई अझ ठोस, प्रभावकारी र अर्थपूर्ण ढंगले अगाडि बढाउन नेपाल पूर्ण रूपमा तयार रहेको धारणा व्यक्त गरे।

त्यसैगरी, भारतीय विदेशमन्त्री जयशङ्करले नेपाल–भारत सम्बन्ध बलियो ऐतिहासिक जगमा आधारित विशेष सम्बन्ध भएको बताएका छन्। उनले पश्चिम एसियामा जारी भूराजनीतिक तनाव र सङ्कटका बीच पनि भारतले नेपालका लागि इन्धन आपूर्तिको निरन्तरता सुनिश्चित गरेको स्मरण गराउँदै भारत सधैँ नेपालको भरपर्दो र विश्वसनीय साझेदारका रूपमा रहने प्रतिबद्धता जनाए।

दुवै पक्षले आपसी हितका विषयमा सहकार्य विस्तार गर्दै द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।































