
समूह ‘जी’ अन्तर्गत सियाटल स्टेडियममा सोमबार राति भएको रोमाञ्चक खेलमा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको १९औँ मिनेटमा कप्तान मोहम्मद सालाहको उत्कृष्ट पासलाई सदुपयोग गर्दै इमाम आसुरले अन्तर्राष्ट्रिय करिअरको पहिलो गोल गरेपछि इजिप्टले अग्रता लिएको थियो। पहिलो हाफभर बेल्जियमले अवसर सिर्जना गरे पनि गोल गर्न सकेन।

दोस्रो हाफमा बेल्जियमले आक्रामक खेल प्रस्तुत गर्दै ६६औँ मिनेटमा स्ट्राइकर रोमेलु लुकाकुलाई मैदानमा उतारेको थियो। मैदान छिरेको केही सेकेन्डमै लुकाकुको दबाबपूर्ण आक्रमणका क्रममा इजिप्टका डिफेन्डर हानीबाट आत्मघाती गोल भएपछि बेल्जियम खेलमा फर्कियो।

बाँकी समयमा दुवै टोलीले केही अवसर बनाए पनि गोल थप्न सकेनन्। इजिप्टका कप्तान सालाह ७५औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए। बराबरीसँगै इजिप्टले विश्वकप इतिहासमा पहिलो जित दर्ता गर्ने सुनौलो अवसर गुमायो भने लुकाकुको प्रभावशाली प्रवेशले बेल्जियमलाई हारबाट जोगाउँदै महत्त्वपूर्ण एक अंक दिलायो।

































