
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा समाजवाद निर्माणभन्दा पनि ‘प्रतिगमन’ पराजित गर्नु सबैभन्दा ठूलो प्राथमिकता भएको बताएका छन्। नेपालको कम्युनिस्ट आन्दोलन तथा जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रतिगमनविरुद्ध सबै लोकतान्त्रिक र वामपन्थी शक्तिबीच कार्यगत एकता आवश्यक रहेको बताए।

ओलीले अहिलेको परिस्थितिमा लोकतान्त्रिक र वाम शक्तिहरू एकजुट भएर प्रतिगमनलाई पराजित गर्नुपर्नेमा जोड दिए। उनले वामपन्थी आन्दोलनमाथि नियोजित रूपमा चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप पनि लगाए।

उनले नेकपा एमालेका नीति सही र स्पष्ट रहेको दाबी गर्दै कुनै दलसँग एकता वा एकीकरणका लागि आफ्ना नीतिमाथि सम्झौता गर्ने पक्षमा पार्टी नरहेको स्पष्ट पारे। एमालेले जनताको बहुदलीय जनवाद (जबज) लाई समयअनुकूल परिमार्जन गर्दै अघि बढाइरहेको उनको भनाइ थियो।

ओलीले वर्तमान राजनीतिक चुनौतीको सामना गर्न लोकतान्त्रिक मूल्य, राष्ट्रिय हित र वामपन्थी एकतालाई सुदृढ बनाउनु आवश्यक रहेको समेत उल्लेख गरे।
































