
नेपालमा डेंगु संक्रमण पुनः चिन्ताजनक रूपमा फैलिन थालेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार गत पुस १७ यता हालसम्म ७१ जिल्लामा १ हजार ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भइसकेको छ। सबैभन्दा बढी संक्रमित कोशी प्रदेश (२९२) र बागमती प्रदेश (२६४) मा रहेका छन्। जिल्लागत रूपमा झापा (१३८) सबैभन्दा प्रभावित छ भने काठमाडौं, सुनसरी, रूपन्देही, मकवानपुर, कास्की, चितवन, पाल्पा र ओखलढुंगामा पनि संक्रमण बढ्दो छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार सामान्य लक्षण देखिएमा प्रशस्त झोलिलो पदार्थ सेवन, आराम र पारासिटामोल प्रयोग गर्न सकिन्छ। तर अत्यधिक पेट दुख्ने, रक्तश्राव हुने वा बेहोस हुनेजस्ता गम्भीर लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा पुग्न आग्रह गरिएको छ।
डेंगु नियन्त्रणका लागि सरकारले आगामी आर्थिक वर्षमा ईडीसीडीलाई ३० करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यसमध्ये ‘खोज र नष्ट गर’ अभियान सञ्चालनका लागि ३ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। स्थानीय तह, विद्यालय, सुरक्षाकर्मी र निजी क्षेत्रलाई समेत अभियानमा परिचालन गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ।



नेपालमा एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ। घर तथा वरपर पानी जम्न नदिनु, ट्याङ्की र भाँडाकुँडा छोपेर राख्नु, झुल प्रयोग गर्नु, लामो बाहुलाका लुगा लगाउनु तथा लामखुट्टेको बासस्थान नष्ट गर्नु नै डेंगुबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भएको विज्ञहरूको सुझाव छ। सार्वजनिक स्वास्थ्यका लागि बढ्दो चुनौती बन्दै गएको डेंगु नियन्त्रणमा सरकारसँगै नागरिकको सक्रिय सहभागिता पनि उत्तिकै आवश्यक रहेको उनीहरूको भनाइ छ।


































