
हिन्दु धर्मअनुसार बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्रीहरि विष्णुको आराधनाको विशेष दिन मानिन्छ। यस दिन श्रद्धापूर्वक व्रत बसेर विष्णु र माता लक्ष्मीको पूजा गरे धन, सन्तान, विद्या तथा सुख–समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। परम्पराअनुसार यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गरिन्छ, र त्यस दिन अनुराधा नक्षत्र परे झन् शुभ मानिन्छ।

व्रतका दिन बिहान स्नान गरी पहेँलो वस्त्र धारण गर्ने, पहेँलो फूल र चन्दनबाट तयार गरिएको प्रसाद भगवान विष्णुलाई अर्पण गरी पूजा गर्ने विधि छ। यसरी भक्तिभावका साथ पूजा गर्दा भगवान विष्णुको कृपा प्राप्त भई घरमा सुख, शान्ति र समृद्धि कायम रहने विश्वास गरिन्छ।

धार्मिक मान्यताअनुसार यो व्रत लगातार १३ महिना वा कम्तीमा सात महिनासम्म गर्नुपर्छ। व्रतका दिन शुद्ध भई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तीमा पाँच माला जप गर्नुपर्ने परम्परा रहेको छ। श्रद्धा, नियम र भक्तिसहित गरिएको यो व्रत जीवनमा सकारात्मक ऊर्जा र शुभफल प्राप्तिको प्रतीक मानिन्छ।

































