
नेपाल चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै बिहीबारदेखि देशभरका सरकारी तथा निजी अस्पतालमा नियमित रूपमा सबै स्वास्थ्य सेवा सञ्चालनमा आएका छन्। सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ पाँचबुँदे सहमति भएपछि आन्दोलन औपचारिक रूपमा अन्त्य भएको हो।

आन्दोलनका कारण मंगलबार र बुधबार आकस्मिक सेवाबाहेक अधिकांश अस्पतालमा ओपीडी, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवाहरू प्रभावित भएका थिए। आन्दोलन फिर्ता भएसँगै ती सबै सेवा आजदेखि पूर्ण रूपमा सुचारु भएका छन्, जसबाट उपचारका लागि प्रतीक्षारत बिरामीलाई राहत पुगेको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्ने विषयमा सरकार र चिकित्सक संघबीच सहमति जुटेपछि आन्दोलन टुंगिएको हो।

नेपाल चिकित्सक संघले सहमतिको कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएको छ। सहमतिसँगै स्वास्थ्य सेवा पुनः सामान्य अवस्थामा फर्किएको छ भने बिरामीले नियमित उपचार सेवा सहज रूपमा पाउन थालेका छन्।































