सुनसरी गोलीकाण्डमा सरकार–पीडित परिवारबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढ्ने

Image
Nisarga Hospital

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र मृतक ओमप्रकाश मेहता तथा जयप्रकाश मेहताका अभिभावकबीच लिखित सम्झौतामा हस्ताक्षर भएसँगै लामो समयदेखि जारी विवाद समाधानतर्फ अघि बढेको हो।

CP Hospital Dhangadhi

सहमतिअनुसार सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ। साथै, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ भने प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गरिनेछ।

त्यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियतबारे आवश्यक अनुसन्धान सुरु गरिने तथा छानबिन समितिको प्रतिवेदनका सुझाव कार्यान्वयन गरिने सहमति भएको छ। मृतकद्वयको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषय पनि सहमतिमा समेटिएको छ।

nawajiwan

बिहीबार रातभर भएको वार्तापछि शुक्रबार बिहान करिब ५ बजे सहमति जुटेको हो। सहमतिपछि पीडित परिवारले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् भने अस्पतालमा रहेका दुवै मृतकको शव बुझेर आजै दिउँसो अन्त्येष्टि गरिने जनाइएको छ।

Attariya Hospital

सरकार–पीडित परिवारबीच भएका ६ बुँदे सहमति

  1. मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ तथा प्रत्येक परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।
  2. साउन १० गते देवानगञ्ज–३, कप्तानगञ्जमा भएको गोलीकाण्डको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार तत्काल कारबाही प्रक्रिया अघि बढाइनेछ।
  3. देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत र सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिनेछ।
  4. मृतकका प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ।
  5. छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिस प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गरिनेछ।
  6. मृतकद्वयको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिनेछ।