
सुनसरीको देवानगन्जसहित पूर्वी तराई–मधेशका जिल्लामा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा भिडियो सम्बोधन गर्दै सरकार शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने बताए। उनले घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरिसकेको र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे।
प्रधानमन्त्रीका अनुसार केन्द्रमा सर्वदलीय बैठक बसेको छ भने स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा र समुदायसँग निरन्तर संवाद भइरहेको छ। गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारी घटनास्थल पुगेका छन् भने राष्ट्रिय सुरक्षा परिषद्ले पनि आवश्यक निर्णय गरिसकेको छ।


उनले सामाजिक सञ्जालमार्फत अफवाह, घृणा र साम्प्रदायिक वैमनस्य फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गर्दै आधिकारिक सूचनामात्र विश्वास गर्न अनुरोध गरे। प्रत्येक नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भाव र शान्ति कायम गर्नु राज्यको सर्वोच्च दायित्व भएको उल्लेख गर्दै अराजकता र हिंसा फैलाउने जोकोहीमाथि कडा कारबाही हुने चेतावनी दिए।
प्रधानमन्त्री शाहले नेपालको संविधानले सबै नागरिकलाई आफ्नो धर्म र संस्कृति पालना गर्ने अधिकार दिएको स्मरण गराउँदै कुनै एक घटनाको आधारमा सम्पूर्ण समुदायलाई दोषी ठहर गर्नु अनुचित हुने बताए। उनले सबै राजनीतिक दल, सञ्चारमाध्यम, धार्मिक अगुवा, नागरिक समाज र आम नागरिकलाई संयम, जिम्मेवारी र आपसी भाइचारा कायम राख्न आह्वान गरेका छन्।































