
अत्तरियाः रसुवाको टिमुरेस्थित पावर चाइना कम्पनीमा मजदुरी गर्न गएका आफ्ना छोरा फर्कने बाटो हेर्दै बसेको डेढ हप्ता नाघ्यो, कैलालीकी फूलपती कठरियाको आँखा अझै ओभाएको छैन। भदौ १० गते भोटेकोशीमा आएको विध्वंसात्मक बाढीले छोरालाई बेपत्ता बनाएको खबरले उहाँको भोक, प्यास सबै हराएको छ।

जोशीपुर गाउँपालिका–२, मुड्ढीमा छोराको प्रतीक्षामा बस्नुभएकी फूलपती भन्नुहुन्छ, “भाग्दाभाग्दै छोरा पहाडको धेरै माथि पुग्यो कि ! सरकारले पहाडको टुप्पोसम्म पुगेर खोजेकै छैन। त्यहाँसम्म खोजी गरोस्। मेरो छोरा कहीँ न कहीँ बाँचेको छ, एक दिन अवश्य फर्कन्छ।” उहाँको दिनचर्या अहिले छोरो आउने बाटो हेर्दै बित्छ। “छाती पोलिरहेजस्तो छ, बेचैनी मात्रै छ,” उहाँले पीडा पोख्नुभयो।
त्यस्तै पीडामा हुनुहुन्छ बेपत्ता बुधरामकी श्रीमती रमिता। दुई वर्षे छोराको मुख हेर्दै श्रीमानको बाटो कुरिरहनुभएकी उहाँले भदौ ९ गते राति १० बजेसम्म श्रीमानसँग फोनमा कुरा गर्नुभएको थियो। बिहान बाढीको खबर सुनेपछि फोन गर्दा सम्पर्क भएन। “भागेर कतै पुगेर बाँच्नुभएको होला भन्ने आशा अझै छ,” उहाँ भन्नुहुन्छ, तर सरकारले प्रभावकारी खोजी नगरेको गुनासो पनि उहाँको छ।


मुड्ढीकै रामप्रसाद कठरियाकी श्रीमती रेखाकुमारीको अवस्था पनि उस्तै छ। एकै परिवारका दुई दाजुभाइ — रामप्रसाद र फत्तेराम कठरिया बेपत्ता हुँदा परिवार विचल्लीमा छ। उनीहरू पावर चाइना कम्पनीमा सडक नाला निर्माणमा काम गर्थे। बिहान ७ बजे नै सुरुङबाहिर काममा जाने भएकाले पहाडतिर उक्लेर ज्यान जोगाएको हुनसक्ने आफन्तको अनुमान छ।
भदौ १० को बाढीमा मजदुरी गर्न रसुवा पुगेका कैलालीका ११० जना सम्पर्कविहीन भएका थिए। तीमध्ये ४६ जना सम्पर्कमा आए पनि ६४ जना अझै हराइरहेका छन्। १२ दिन बितिसक्दा पनि सास वा लास केही पत्ता नलाग्दा परिवार अन्योलमा छन्।
बेपत्ता राकेश थारूकी श्रीमती प्रतीमा भन्नुहुन्छ, “ससुरा चितवन, नुवाकोट, काठमाडौं धाएर फर्कनुभयो, केही पत्ता लागेन।” बिरामी भएर गुरही पर्वमै घर फर्कने तयारीमा रहेका राकेश ठेकेदारले पैसा नदिएपछि रोकिनुभएको थियो। बाढीअघिल्लो रात “एक-दुई दिनमा फर्कन्छु” भन्नुभएको थियो, त्यसपछि सम्पर्क टुट्यो। आशा र निराशाको दोसाँधमा ६४ परिवार अझै पनि आफन्त फर्कने बाटो हेरिरहेका छन्।































