दार्चुला सेरोफेरो र लोकतान्त्रिक गणतन्त्र

Image
Nisarga Hospital

कर्मथलाे कैलाली धनगढी भएपनि जन्मथलाे दार्चुला नै भएकाेले आफू देशकाे जुनसुकै भू-भाग वा देश बाहिर बसेपनि मातृभूमिकाे माया कसलाई नहाेला र ! मलाई पनि दार्चुलाकाे माटाे, हावापानी, भेषभूषा, रहनसहन, संस्कृति, चालचलन तथा यहाँका मानिसहरूप्रति अगाध माया छ । यसाे भन्दा कर्मथलाेलाई बेवास्ता गरेकाे भने हाेइन है । विगत २६ वर्षदेखि धनगढी सेराेफेराेमा रहेर शिक्षण पेशामा आवद्ध छु । हजाराैं विद्यार्थीहरूलाई प्राध्यापन गरियाे हाेला र प्राध्यापनरत छु पनि । हातमुख जाेड्ने र समाजसेवा गर्ने कर्मथलाे झनै प्याराे छ । तर जुन माटाेमा हुर्के, बढे, बालापन बिताए, विद्यालय शिक्षा हासिल गरे । उक्त ठाउँकाे माटाेलाई बिर्सेमा सराप्नेछिन धर्तीमाताले जाेकाेहीलाई पनि । धर्तीमातालाई काेटिकाेटी नमन गर्दछु ।

CP Hospital Dhangadhi

आफू दार्चुलेली नै भएकाेले पनि दार्चुलाकाे बारेमा थाेरबहुत जानकारी हुनु त स्वभाविक पनि हाे । दार्चुलामा जन्मिएर विद्यालय जीवनकाे शिक्षा पनि साेही ठाउँबाट प्राप्त गरेर जानकारी नभएका कुराहरूकाे खाेजीगर्नु पनि मेराे कर्तव्य हुन जान्छ । सुदूरपश्चिमकाे अन्तिम विकट जिल्ला जुन भारतकाे उत्तराखण्ड प्रदेशकाे पिथाैरागढ जिल्लाकाे धारचूलासंग जाेडिएकाे छ । याे जिल्लालाई महाकाली नदीले सीमाङ्कन गरेकाे छ । याे जिल्ला राष्ट्रिय अन्तर्राष्ट्रिय चाँसाे र बहसकाे बिषय बनेकाे कालापानी, लिपुलेक, लिम्पियाधुराकाे बिवादास्पद चुच्चे नक्सा तथा २०७० सालकाे बाढीबाट प्रभावितले गर्दा पनि झन चाँसाे र राजनीतिक दाउपेचकाे बिषय रहेकाे कुरामा दुईमत नहाेला । राज्यले चुच्चे नक्सा जारी गरि सकेकाे अवस्थामा कार्यान्वयन नहुनु र राजनीतिक दलहरुकाे निहित स्वार्थमा राष्ट्रिय मुद्दा र बहस गरिनुकाे कुनै औचित्य नभएकाे पङ्त्तिकारकाे ठम्याइ रहेकाे छ । यसरी दार्चुला जिल्लाकाे बारेमा चित्रण गर्दा कालापानी, लिपुलेक, लिम्पियाधुरा र चुच्चे नक्साले गर्दा पाठकलाई याे लेख पढ्ने मन त पक्कै पनि लाग्छ हाेला । तर यस लेखमा दार्चुला जिल्लाकाे विगत तथा वर्तमानकाे समसामयिक राजनीतिक घटना परिघटनाहरू पाठक समक्ष पेशगर्ने धृष्टता गरिएकाे छ ।

स्थानीय तह पुन:संरचना अनुसार दार्चुला जिल्ला एक संसदीय विकास क्षेत्र, २ वटा नगरपालीका : महाकाली नगरपालिका, शैल्यसिखर नगरपालिका (जम्मा वडा संख्या १८), ७ गाउँपालिका : मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, नाैगाड गाउँपालिका, मार्मा गाउँपालिका, ब्यास गाउँपालिका, अपिहिमाल गाउँपालिका, दुहुँ गाउँपालिका, (वडा संख्या ४३) गरी जम्मा ६१ वडहरुमा विभाजित छ ।
१०४ वर्षे जहानियाँ राणा शासन, ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्था र तत्पश्चात प्रजातान्त्रिक व्यवस्था लागुभयाे देशमा । आफू जन्मेकाे माटाेकाे अगाध माया, प्रेमलेगर्दा र थाेरै अक्षरकाेपनि ज्ञानभएकाे नाताले आफ्नाे जिल्लाकाे सामाजिक, आर्थिक, राजनीतिक गतिविधिबारे चाँसाेराख्नु स्वभाविक पनि सम्झेकाे छु । तथापि आफू राजनीतिज्ञ नभएकाे र राजनीतिगर्ने लालच पनि नभएकाे व्यहाेरा अनुराेध गरें । यसरी मनका भावनाहरू पाेख्दा कुनै पार्टी, व्यक्तिप्रतिभने कुनै पूर्वाग्रही भएर लेखिने छैन ।

nawajiwan
Attariya Hospital

मानिस स्वभावैले राजनीतिक प्राणी हाे । कुनैपनि मानिस राजनीतिबाट अछुत रहन सक्दैन । राजनीति घरपरिवार, समाज, संघसंस्था, व्यापार, कृषि, शिक्षा, स्वास्थ्य आदि सबै ठाउँमा प्रत्यक्ष वा पराेक्षरुपमा हुने नै गर्दछ भन्ने पङ्त्तिकारकाे बुझाई रहेकाे छ । देशकाे समसामयिक राजनीतिक परिस्थिति, विभिन्न पार्टी तथा दलीय भागबन्डा देखेर जाे काेहिलाई पनि अचम्म लाग्नु स्वभाविक नै हाे । बहुदलीय व्यवस्था भनेकाे कसैकाे जनमत भए नभएपनि नेताहरूले बाँडीचुँडी खाने व्यवस्था पाे रहेछ कि भन्ने भान भइरहेको छ । राष्ट्रिय सभामा कुनै पार्टीको बहुमत नभएपनि फेरि शीर्षस्थ नेताहरू भागबन्डा मिलाउँदै छन् । गजब छ बा ! जनमत तथा बहुमत बिनापनि भागबन्डाको खेलमा लागेर पदपाेष्ट हत्याउनु र राज्यकाे सम्पत्ति दाेहन गर्नु । यहि हाे त लाेकतान्त्रिक बहुदलीय व्यवस्था ? बहुदलीय व्यवस्था नभनेर सबै दलहरूले मिलिजुली खाने व्यवस्था भन्दा कसाे हाेला ?

मलाई राजनीतिक ज्ञान त छैन, किनकि म राजनीति शास्त्रकाे विद्यार्थी हाेइन । तर केही सतही अक्षरकाे ज्ञान भएकाेले राजनीतिक चेतना भने अवश्य पनि छ । ३० वर्षे निर्दलीय पञ्चायत पश्चात् वि. सं. २०४७ मा बहुदलीय व्यवस्था आयाे । २०६२/०६३ काे आन्दोलन पश्चात् तत्कालीन श्री ५ महाराज धिराज ज्ञानेन्द्र शाहलाई राज सिंहासनबाट हटाएर नारायणहिटी राजदरबार खाली गराइयो । श्री ५ ज्ञानेन्द्र नागार्जुन दरबार सवारी भए । अनि देशमा रहेकाे एकमात्र राजसिंहासनकाेलागि ६०१ राजाहरू तयार पारिए । श्री ५ काे सरकारकाे ठाउँमा नेपाल सरकार लेखिनु बान्छनीय भएपनि सभ्य, शिष्ट प्रजातान्त्रिक प्रणालीकाे विकास हुन नसक्दा देशमा भ्रष्टाचार, अनियमितता, मानव बेचबिखन, जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, बलात्कार, हत्याहिंसाका घटनाहरू बढनुमा दाेषी कसलाई ठह-याउनु हुन्छ त ! शरीर भित्रका अङ्गहरू सकिएपछि बाहिर सुन जडित प्लाष्टिक सर्जरीगर्दा के मानिसलाई बचाउन सकिएला कि ? त्यस्तै सुन जडित प्लास्टिक सर्जरीरुपि देशभित्रका सबै अङ्गहरू सखाप भइसकेका छन् । देश बर्बाद तथा खाेक्राे भइसकेको छ । जनताद्वारा चुनिएका नेताहरू सत्तालिप्साकाे चरम उत्कर्षमा पुगेका छन् ।
मैले माथि दार्चुला सेराेफेराे र मेराे दार्चुलाकाे माटाे प्याराे छ भनेर उल्लेख गरेपनि कर्मथलाे कैलाली जिल्लाप्रतिपनि अगाध माया प्रेम छ ।

किनकि कैलालीमा बसेर हातमुख जाेडिरहेकाे छु । देशमा राणाकालीन शासनदेखि हालकाे लाेकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा दार्चुला जिल्लाकाे राजनीतिक अवस्थाकाे बिबेचनागर्ने धृष्टता गर्दै छु । यसरी बिबेचना गर्दा कसैकाे पक्षपाती तथा अन्धभक्त नभएर मैले जे देखे साेही कुरा लेख्दा के नै फरक पर्ला र ! हामी दार्चुलेलीहरूले कसैलाई र कुनै पार्टीलाई एकपटक समर्थन गरेपछि सधैंभरी उही पार्टी र नेतालाई बाचुञ्जेलसम्म समर्थन गर्दै आएकाछाैं । यसरी हामीले सधैभरि एकै पार्टी र एकै नेतालाई समर्थन गर्नुमा भने हामी स्वयम् दाेषी छाैं । नेता र पार्टीको कुनै गल्ति छैन । वि. सं. २०४७ सालमा संविधान जारीहुँदा मेराे उमेर १८ वर्षकाे थियाे । मताधिकार प्राप्त गरेकाे थिए मैलेपनि । जिल्लामा कुनै पार्टीको एकैजनामात्र २५ वर्षसम्म पार्टी सभापति भए । नेपाली काँग्रेस र नेकपा एमालेमा संघीय उम्मेदवार अपवाद बाहेक निरन्तर रुपमा एकैजना देखिन्छन् । निरन्तररुपमा उहि अनुहार, उहि पार्टीलाई मताधिकार प्रयाेगगर्नु नेताकाे गल्ति कि जनताकाे ? जित्नेहरू माननीय भए, मन्त्री भए, मानसम्मान बढ्याे । उनीहरूका अगाडि पछाडि समर्थकहरूकाे हुल छ ।

सुरक्षाकर्मीहरू छन् । पैंसा छ, सबथाेक छ । जाे राजनीति गर्छु भनेर कुनै पार्टीको पछि लागेकाेछ, पार्टीमा जीवन समर्पण गरेकाे छ, उसले कहिले माैका पाउँछ जनताद्वारा अनुमाेदित हुने ? एकै व्यक्ति वर्षाैंसम्म पार्टी सभापति भएपछि अर्को व्यक्तिको पालाे कहिले आउँछ त पार्टी सभापति हुने ? एकपटक सत्तामा पुगिसकेपछि सत्तासीनहरू नै क्षमतावान, बलवान् र जिल्लाका राजाहुने व्यवस्था भएपछि २४० वर्षे शाहवंशीय परम्परा र हालकाे लाेकतान्त्रिक गणतन्त्रमा के भिन्नता त ! यहाँ जिल्लाकाे प्रसङ्ग जाेडिएपनि देशैभरि यस्तै देखिएकाे छ । कार्यकर्ताकाे संरक्षण गरेकाे देखिएन, यति सम्मकि जितेर गइसकेपछि जनताकाे फाेनसम्म पनि रिसिभ हुदैन । यहि हाे त बहुदलीय लाेकतान्त्रिक व्यवस्था ? यदि यस्तै हाे लाेकतन्त्र भनेपछि अब दार्चुलाका जनता कसैका हनुमान बन्ने छैनन् ।

सत्तामा पुगेका नेताहरू नै आउँदाे निर्वाचनको तयारीमा जुटेका छन् । किनकि पार्टीका शीर्षस्थ नेता तथा पार्टीका हालीमुहाली नेतासँग सम्पर्क र राम्राे चिनजान पनि छ ।जनताकाे अभिमतकाे ख्यालै नगरिकन टिकट वितरणगर्दा सिङ्गाे लाेकतन्त्र नै धरासायी बन्दै गएकाे छ । जन्मथलाे र जन्म तथा कर्मथलाे भएका सभासद, पार्टीका सचेतक, मन्त्री प्रदेशमा पदासीन रहेका छन् । जिल्लाका स्थानीय नगर तथा गाउँपालिकाका जनप्रतिनिधिहरूकाे प्रदेशमा नवीन कार्य तथा याेजनाकाेलागि कुनै पहल भएकाे देखिदैन । स्थानीय जनप्रतिनिधि, प्रदेश तथा संघीय जनप्रतिनिधिहरूकाे जनतासँगकाे हिमचिम पटक्कैपनि छैन । चुनाव आएपछि हामी जनता निजका झण्डा, पाेष्टर, पम्पलेट, ब्यानर बाेकेर मुर्दावाद, जिन्दावादका नारा लगाउँदै प्रचारमा लाग्छाैं । धन्य हामी नेपाली, धन्य दार्चुलेली !

अबकाे आउँदाे निर्वाचनमा हामी सबैले सचेत हुने बेला आएकाे छ । पार्टी हाेइन व्यक्ति, हाम्राे हाेइन राम्राे राेजाैं । तथापि पार्टीहरूकाे विराेधभने गरेकाे हाेइन । राजतन्त्रको नाम लेखिएपनि वकालत भने नगरेकाे व्यहाेरा अनुराेध छ । साथै कुनै नेता व्यक्ति विशेषकाे पनि विराेध नगरिएकाे व्यहाेरा समेत अनुराेध गरे ।

मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी
दार्चुला