
दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिकाअन्तर्गत वार्ड नम्बर -४ औल्लेक (औतालेक) गाउँकाे माथि सिरानमा हुनैनाथ मन्दिर रहेकाे छ । हुनैनाथ छिप्लकेदार (पिता) र भागाश्री (माता) का पुत्र तथा बैजनाथका भान्जा हुन । हुनैनाथलाई स्थानीय भाषामा विभिन्न ठाउँमा हुन्शिखर, हुष्कर आदि नामले पनि पुकारिन्छ । दार्चुलाकाे लेकम क्षेत्रमा न्यायका देवताले पूजित हुनैनाथ मन्दिरलाई वरदानी ढाेका पनि भन्ने गरिन्छ । हुन्शिखरकाे जप ध्यान गर्नाले मनले चिताएकाे पुराहुने जनविश्वास रहिआएकाे छ ।

आराध्यदेव हुनैनाथ प्रतिकाे आस्था, बिश्वास, महिमा, भराेसा आदिकाे बारेमा चर्चा गर्दा हुनैनाथकाे उत्पत्ति सम्बन्धमा पनि केही कुरा श्रुति, आख्यान र किम्बदन्तिका आधारमा उलेख गर्नु बाञ्छनिय देखिन्छ । वेद, पुराण, उपनिषद, धर्मग्रन्थ, लाेकश्रूति, झाेडाे, फाग, भक्तिगाथामा वर्णित ईश्वरीय शक्तिबाट प्रकट भएका ब्रह्मा, विष्णु, शिव लगायतका सृष्टि कालमै अजन्मा, अविनाशी, अलाैकिक शक्तिपुञ्ज मध्येका श्रीकेदार, ध्वजकेदार, राैलकेदार, ग्वाल्लेककेदार र छिप्लकेदार गरि पाँच महादेवले केदारकाे दर्जा प्राप्त गरेकाे कुरा विभिन्न वेद, पुराण तथा अन्य धार्मिक ग्रन्थहरुबाट स्पष्ट हुन्छ । त्यसै गरि सृष्टि कालमै ईश्वरीय शक्तिबाट प्रकट भएका ५६ काेटी भगवती मध्येका हिम पुत्रीहरु भागाश्री, शाेभाश्री, शैल्यश्री, पूर्णाश्री र शुर्माश्रीलाई पञ्चश्री भगवतिकाे रुपमा वर्णन गरेकाे पाइन्छ ।
यिनै पञ्चकेदार मध्येका छिप्लकेदार (छिपलाे) र पञ्चश्री मध्येका जेष्ठ हिम पुत्री भागाश्रीकाे जेष्ठ सुपुत्र हुनैनाथ (हुष्कर, हुन्शिखर) बैजनाथका भान्जा हुन भनी हुनैनाथकाे भक्तिगाथामा समेत उल्लेख गरिएकाे छ । इष्टदेव हुनैनाथकाे बारेमा लेख्दै गर्दा मैले सुनेकाे र तत् सम्बन्धी केही कुराहरु अध्ययन गरेकाे आधारमा आफ्नाे मनले कुनै पनि कुरा बढाई चढाई नगरिकन हुनैनाथकाे चमत्कारिक अवतार सन्दर्भलाई यस लेखमा समेट्ने प्रयास गरेकाे छु । आराध्यदेव हुनैनाथ स्वामीकाे हामी माथि सधैं कृपा रहिरहाेस ।

श्री हुाैनाथ छिप्लकेदार र भागाश्रीकाे काेखबाट अवतार भएकाे कुरा विभिन्न आख्यान, श्रुति, किम्बदन्ति र भक्तिगाथा तथा झाेडाे, फाग, सगुन आदिबाट पुष्टि हुन्छ । दाेभाषे कुरा गर्दा पाठकहरुकाे मनमा खिन्नता प्रकट हुनु त स्वभाविकै हाे आफूलाई पाठककाे रुपमा हेर्दा । यस लेखमा हुनैनाथकाे उत्पत्ति सम्बन्धी केही राेचक प्रसङ्गहरु प्रस्तुत गर्ने प्रयास गरेकाे छु ।
प्राचीन औल्लेक क्षेत्र भित्रका गाउँहरुमा विभिन्न जात जातिका मानिसहरुकाे बसाेबास थियाे । बिभिन्न जातका मानिसहरु बसाेबास गरेकाे कुरा अहिलेका गाउँहरुकाे नामबाट पनि पुष्टि हुन्छ । प्राचीन कालमा बाेहराहरुले बसाेबास गरेकाे क्षेत्रका ऐतिहासिक स्थानहरुमा बाेराइजर, बाेरेकाफल, बाेरामाणाैं, बाेरेपानी आदि स्थानहरु रहेका छन् । ओजिगाड, ओजिखेतमा ओझाकाे बस्ती रहेकाे र जाेशीगाउँमा जाेशीकाे बस्ती, मलबाबमा मल्ल जातका मानिसहरुकाे बसाेबास रहेकाे कुरा पुष्टि हुन्छ । प्राचीन कालमा गाईवस्तु चराउन वनमा ग्वाला जाने गर्दथे भन्ने कुरा त द्वापरयुगमा कृष्णले गाेकुल मथुरामा गाईहरु चराएकाे कुरा महाभारत ग्रन्थबाट पनि पुष्टि हुन्छ । औल्लेक गाउँका मानिसहरु पनि दिनहुँ जसाे वनमा गाई भैंसी चराउन जाने गरेकाे तथ्य यहाँकाे स्थानीय भाषामा गाईने भक्तिगाथा झाेडाेबाट पुष्टि हुन्छ । एउटा काली दुहुनाे गाई वनमा चर्न गएपछि सधैं घरमा रित्ताे थुन बनाएर जाने रहेछ र साँझ दूध दुहुँदा थुनबाट दूध नै नआउने रहेछ ।

महिनाैं दिन सम्म पनि यस्तै भएपछि एक दिन हंशराज भट्टका छाेराले थरका उक्त कालीगाईलाई आफ्नाे निगरानीमा राखेछ र एक दिन लुकेर हेर्दा एउटा शिलामा गाईकाे थुनबाट आफै दूध चुहिरहेकाे देखेछ । याे क्रम केही दिन सम्म चलि नै रह्याे । केही दिन पछि गाईकाे थुनबाट दूध चुहिरहेकाे अवस्थामा हंशराज भट्टका छाेराले देखे पछि के रहेछ त भनी शिलापत्रमामा हँसियाले हान्दा उक्त शिलापत्रबाट रगतकाे धारा बगेछ र तत्कालै त्याे मानिसले आफ्नाे शरीरमा लगाएकाे बाेदलाे (बाेरा) ले छाेपेछन् । यसरी त्याे दिनदेखि शिलापत्र देवत्वमा परिणत भइ पूजन गर्न थालियाे र हुन्शिखर देवताकाे अवतार भएकाे कुरा हुन्शिखरकाे झाेडाे तथा भक्तिगाथाबाट पुष्टि हुन्छ । साेहि दिन देखि हंश राज भट्टमा हुन्शिखरकाे अवतार देखा परेकाेले उक्त शिलापत्र भित्रकाे लिङ्गकाे पूजन गर्न थालिएकाे कुरा हुन्शिखरकाे झाेडाे तथा भक्तिगाथामा उल्लेख गरिएकाे छ । हंश राज भट्ट कत्यूर (भारत) बाट आएर औल्लेकमा बसेका हुन । कत्यूर कुमाऊँकाे बारेमा यस लेखमा उल्लेख गर्नु बाञछनिय देखिन्छ ।
मैले सामाजिक सञ्जालमा मनमा लागेका कुराहरू लेख्दै गर्दा कसैले मलाई समाज विराेधीकाे उपमा दिएपनि केही छैन् । तर समाज बिराेधीभने पक्कै पनि हाेइन । मैले हुनैनाथकाे महिमा तथा शक्तिकाे बारेमा हुनैनाथकाे महिमा शीर्षकमा उल्लेख गरिसकेको छु । हाम्रा पुर्खाहरू चारधाम ( बद्रीनाथ, द्वारका, पुरी र रामेश्वरम ) जाने भन्थे र कतिपय पुर्खाहरू गए पनि । यी धामहरूकाे प्रवेशद्वार हरिद्वारलाई मानिन्छ । हरिद्वारपनि एक पवित्र धाम नै हाे । हाम्राे दार्चुलाकाे स्थानीय देवीदेवताहरू पनि एक किसिमले धाम नै हुन् । नजिककाे तिर्थ हेला भने जस्तै मात्र हाे । जस्तै मालिकार्जुन धाम, हुन्शिखर धाम आदि । यस्ता धामहरूमा नवरात्रीमा हाेस कि अन्य कुनैपनि पर्वमा खसी बाेका, राँगा, हाँसकाे बलि गरेकाे सुनिदैन । पशुपतिनाथ, मनकामना, मानसराेवर, मुक्तिनाथ आदिमा पनि बलि गरिदैन । हुन त परम्परादेखि चलि आएकाे रीतिरिवाजलाई कसैले पनि छाेडन मन पराउँदैनन् । तर यस्ता प्रथाकाे रुपमा रहेका कुप्रथालाई हटाउनु पर्दछ । समाजबाट दास प्रथा, सति प्रथा, कमैया प्रथा, देउकी प्रथा, छाउपडी प्रथा उन्मुलन भइसकेको छ भने बलिप्रथापनि एकदिन हट्ने नै छ । तर ढिलाे चाँडो मात्र हाे । घरपरिवारमा कुनै सदस्य बिरामी भएमा, कुनै दम्पतीकाे छाेरी नै छाेरीभएर छाेरा हाेस भनेर भाकल स्वरुप खसीबाेकाकाे बलि चढाउने चलनलाई मैले त कु-प्रथा नै भन्छु पाठकज्यूहरूलाई चित्त नबुझे पनि । अर्काे असन्तुष्टि देवताकाे पतरे (झाँक्री ) ले जे भन्याे त्यही मान्ने कि मनुवाहरूले । आज मन्दिरकाे प्राकृतिक डाँडा भत्काउ भन्याे, भत्काइदिनु भयाे । धन्यहाे समाजसेवी अगुवा मनुवा ! भाेली याे ठाउँबाट मन्दिर सार्नु पर्याे भन्लान रे ! अब मन्दिर सार्न पनि तयार हुनु प-याे मनुवा । हुन त मैले असन्तुष्टि राख्दैमा के नै फरक पर्छ र ! यदि देवबाणी भएर नै हुनैनाथकाे प्राकृतिक बासस्थानलाई कृत्रिम बासस्थान बनाए जस्तै हुन्शिखर मन्दिरमा बली नगर भन्ने वाणी किन आउँदैन त । कुन धाममा छ बली गर्ने प्रचलन ? जय हुनैनाथ स्वामी !
खसी बाेकाकाे बली :
हामीले आफ्नाे मनाेकामना पूरा हाेस भनेर खसीबाेका चढाउने भाकल गरेका हुन्छाैं । मनाेकामना पुरा भएनभएपनि केही समय पछि खसीबाेकाे बलीगर्नकाेलागि मन्दिरमा जान्छाैं । नाङ्गाे खुकुरी, तरवार तयार पारेर धेरै मानिसहरूकाे बिचमा खसीबाेका राखेर शरीरमा पानीहाल्दै पर्छाउने गरिन्छ । पर्छाउने भनेकाे उपस्थित सबै मनुवाहरूले लेले, खाखा भन्दै जीउमा पानी छर्केर बिन्ती लगाएपछि खसी बाेकाले शरीमा भएकाे पानीका थाेपा हटाउन जीउ र टाउकाे हल्लाउँछ । अनि मनुवाहरू देवता खुसीभएर खसीबाेकाले पर्छेकाे भन्छन् र सिधै घाँटी रेटछन् । यसरी खसीबाेका पर्छाइन्छ हाम्राेमा ।
धन्यहाे मनुवा ! प्राणी सबै ईश्वरका सन्तान हुन भने ईश्वरलाई खुसी पार्न र बैतरणी तर्न मनुवाले आफ्नाे सन्तानकाे बलि किन गर्दैनन् ।
दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका – ४ हुनैनाथकाे औल्लेकमा अवस्थित हुन्शिखर पनि शिवकाे प्रतिरुप नै हुन् । मालिकार्जुन पछिकाे दाेस्राे धाम हुन्शिखर धाम भएकाेले समाजका अगुवा, वुद्धिजिबी, शिक्षक, प्राध्यापक, वकिल, चिकित्सक, कृषक, उद्यागी, व्यापारी, देव कारिन्दा सबैमा मेराे निवेदन के छ भने हुन्शिखर एक पवित्र धाम भएकाेले मन्दिर परिसर भित्र हुने बलिप्रथाकाे खुलेर विराेध गराैं र बलिप्रथा उन्मुलनकाे लागि पहल गरियाेस । नवरात्रीमा नरिवल, काेभिण्डाेबाट काम चलाउने धार्मिक परम्पराकाे थालनी हाेस । समाजमा हुने यस्ता अन्धविश्वासजन्य कुप्रथा अन्त्यकाेलागि सबै पक्षबाट पहलकदमीकाेलागि अनुराेध गर्दछु । किनकि हुनैनाथ पनि एक धाम हाे भने । विश्वका कुनैपनि धाममा बलि गरिदैन ।
धन्यवाद !
मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङ्गा), दार्चुला
स्राेत :
धामी, राजेन्द्र र दामाेदर (२०७८), अाराध्यदेव हुनैनाथकाे महिमा तथा अाैल्लेकी धामीहरुकाे वंशावली । गाेकुलेश्वर दार्चुला ।
पाण्डेय,बद्रीदत्त (२०२२), कुमाऊँ का इतिहास । भारत
पन्त, दयाकृष्ण (२०६७), दार्चुलाकाे इतिहास । महेन्द्रनगर
फाेटाे : चन्द्र धामी, भाैनबाटा































