
सुदूरपश्चिम प्रदेशकाे कञ्चनपुर जिल्लामा पर्ने दोधारा चाँदनी झोलुङ्गे पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल हो । जुन कञ्चनपूर जिल्लामा स्थित महाकाली नदीमा रहेको छ । याे पुल कञ्चनपुर महेन्द्रनगरबाट पश्चिम-दक्षिण दिशामा ९ किलाेमिटरकाे दूरीमा रहेकाे छ । यो पुलले कञ्चनपुर जिल्लाको दोधारा चाॅदनी र भीमदत्त नगरपालिकालाई जोडेको छ । दक्षिण एशियाकै द्रोसो लामो पुलको रुपमा चिनिने यस पुलले महाकाली पारी रहेको नगरपालिकालाई जोडने काम गर्नुका साथै यस क्षेत्रको सौन्दर्य बढाएको छ ।


यस पुलकाे लम्बाई १४५२.९६ मिटर, चौडाई १.६ मिटर र लामो स्पान २२५.४० मिटर रहेकाे छ । वर्षेनी हजारौं आन्तरिक तथा बाहय पर्यटकहरु दोधारा चाँदनी झाेलुङ्गे पुलको अवलोकन गर्न आउने गर्दछन् । यो पुल जिल्ला भरिमै आकर्षणको केन्द्रका रुपमा रहदै आएको छ । पर्यटकको आगमन दिनप्रति दिन बढ्दो छ । यसले कञ्चनपुर जिल्लाकै महिमा बढाएको छ । कोही पर्यटकहरु पुलको अवलोकन गर्दै फोटोहरू लिदै रमाई रहेका देख्न सकिन्छ भने कोही नदी किनारामा पौडी खेल्दै आनन्द लिइहेका हुन्छन । काेहि पिकनिक स्थलमा दुईखुट्टे र चारखुट्टेकाे मासु पकाउँदै हातमा काेक फेन्टा र वाइन वियरका बाेतल तथा भुजा, चिउरा र फलफूल खाँदै क्यामेरामा आफ्ना फाेटाेहरू कैद गरिरहेका रमाइलो दृश्य देख्न सकिन्छ ।
महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि शेष नेपालसँग झिनो तरिकाले जोडिएको दोधारा–चाँदनी क्षेत्र अहिले पनि मूलप्रवाहभन्दा टाढा छ । स्वाभाविक विकासबाहेक त्यहाँ राज्यले विशेष ध्यान दिन सकेको छैन । महाकालीमा निर्माणाधिन चार लेनको पुल र सुख्खा बन्दरगाहको सपना वास्तवमा दोधारा–चाँदनीवासीको भारतसँग नेपाललाई जोड्ने विकल्परहित योजना भएकैले सुख्खा बन्दरगाहको कुरा उठाइएको हो । दोधारा चाँदनीको नाम सुन्ने बित्तिकै जो कोही महाकालीपारिका २ गाविस भनेर सम्झन्छन् । तर दोधारा चाँदनी महाकालीवारिकै भूभाग हुन् । सन् १८६० को सन्धिको दफा ३ अनुसार देधारा चाँदनी महाकाली पारी छन् । सन् १८६३, सन् १८६४ र सन् १८९३मा ब्रिटिस इन्डियाद्वारा प्रकाशित नक्साहरुमा दोधारा चाँदनीलाई महाकाली पारी देखाएको छ ।
दक्षिण एशियाको दोस्रो लामो झोलुङ्गे पुल भएको चाँदनी-दोधाराका सिमा समस्या तथा बाढी समस्या तत्कालै सरकारले हल गरेर सिमा क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई नेपालीपनको महशुस गराउनु आवश्यक रहेको छ । नदी पारी उत्पादित नगदेबालीको रुपमा बनकरेला, बनतरुल, परवलबालीलाई समेत सरकारले उचित बजार ब्यवस्थापन गरेर यहाँको गरिब कृषकको जिवन स्तरमा आमुल परिवर्तन गर्न सकिने कुरामा दुईमत छैन् ।
वि.सं २०६० को दशकसम्म महाकाली नदीमा एउटा पुलसम्म नहुँदा महाकाली नगरपालिकावासी (दोधारा–चाँदनी) ले भोग्नुपरेको पीडा शब्दमा वर्णन गर्न कठिन छ । झण्डै पाँच दशकअघि बसेको दोधारा–चाँदनीको बस्ती अहिले आइपुग्दा विकासका दृष्टिले कुनै अन्य क्षेत्रको तुलनामा पछि छैन । वि.सं २०६१ सम्म जिल्लाको सदरमुकाम महेन्द्रनगरसँग जोडिन नसकेको दोधारा–चाँदनीका लागि महाकाली नदीमा बनेको झोलुङ्गे पुल एउटा दरिलो माध्यम बन्न पुग्यो । झाेलुङ्गे पुल मात्र नभएर अहिले दाेधारा – चाँदनी बन्दरगाह र झाेलुङ्गे पुल भन्दा माथि बनेकाे माेटरेवल पुलले दाेधारा – चाँदनी नगरपालिकाकाे विकासमा थप टेवा पुग्ने कुरामा विश्वस्त हुन सकिन्छ ।
मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
कैलाली





























