
खोटाङको बराहपोखरी गाउँपालिका–१ स्थित स्वास्थ्य चौकीमा कार्यरत बझाङ घर भएकी २३ वर्षीया अनिशाकुमारी धामी आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी छन्। उनी स्थानीय मुना तामाङको घरमा डेरा गरी बस्दै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आइतबार बिहानदेखि धामी कोठाबाट बाहिर ननिस्किएपछि स्थानीयले शंका गरी प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले भित्रबाट बन्द रहेको कोठाको ढोका खोलेर हेर्दा उनलाई मृत अवस्थामा फेला पारेको हो।

प्रहरीले घटनाको कारण हालसम्म खुल्न नसकेको जनाएको छ। शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

युवा स्वास्थ्यकर्मीको असामयिक निधनले परिवार, सहकर्मी तथा स्थानीय समुदाय शोकमा डुबेका छन्। स्वास्थ्य क्षेत्रमा सक्रिय उनको मृत्युले क्षेत्रमै स्तब्धता छाएको छ।
































