
शिक्षा नियमावलीको दशौँ संशोधनअन्तर्गत शिक्षक सरुवासम्बन्धी गरिएको व्यवस्थाको विरोध गर्दै ‘सरुवा पीडित शिक्षक केन्द्रीय संघर्ष समिति’ले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। समितिले संशोधनलाई त्रुटिपूर्ण र शिक्षकमैत्री नभएको भन्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।

समितिका संयोजक नेत्रलाल भट्टराईका अनुसार शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट छनोट भएर सेवामा प्रवेश गरेका करिब ४० हजार नयाँ पुस्ताका शिक्षकहरू संशोधित व्यवस्थाबाट प्रत्यक्ष प्रभावित भएका छन्। सरकारले गरेको नीतिगत निर्णयले उनीहरूमा अन्याय भएको समितिको दाबी छ।

साउन ९ गते बसेको समितिको बैठकले आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गर्दै साउन १५ गते काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्ने घोषणा गरेको छ। आन्दोलन प्रभावकारी बनाउन सातै प्रदेशमा संयोजक तथा केन्द्रीय पदाधिकारीलाई जिम्मेवारीसमेत तोकिएको छ।

समितिले शिक्षकका अधिकार सुनिश्चित हुने गरी संशोधन खारेज गरी न्यायोचित व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेको छ।
































