
नेपालकै पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षसहितका उच्च अधिकारीहरूको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरिनेछ। उद्घाटनपछि निर्माण कम्पनीले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ।

उद्घाटनसँगै पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकाय र अन्य अत्यावश्यक सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। केही दिन सुरक्षा तथा ट्राफिक व्यवस्थापनको परीक्षणपछि सबै योग्य सवारीसाधनका लागि मार्ग खुला गरिनेछ। परीक्षण अवधिमा कुनै टोल शुल्क लाग्ने छैन।

२,६८८ मिटर लामो मुख्य सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–धादिङ यात्रा थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। कार, भ्यान, बस तथा ट्रकका लागि टोल शुल्क निर्धारण गरिएको छ भने विद्युतीय भुक्तानीको व्यवस्था गरिएको छ।

सुरक्षाका कारण पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा पेट्रोल, डिजेल, ग्यासलगायत ज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ। आधुनिक सिसीटिभी, दमकल, अक्सिजन आपूर्ति, सञ्चार प्रणाली र छुट्टै उद्धार सुरुङसहित निर्माण गरिएको यो आयोजना जापान सरकारको २१ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानीमा सम्पन्न भएको हो। यसबाट नागढुंगाको ट्राफिक जाम घट्ने, यात्राको समय करिब एक घण्टा बचत हुने र इन्धन खपतसमेत कम हुने अपेक्षा गरिएको छ।
































