
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–९ को कार्यालयमा चार दिनदेखि ताला बन्दी जारी रहेको छ । स्थानीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै वडा कार्यालयमा ताला लगाइएको हो ।

धनगढी–सेहरी सडक निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै गोदावरी नगरपालिका–९ सेहरीका स्थानीय आन्दोलित छन् । उनीहरूले सङ्घर्ष समिति गठन गरेर वडा कार्यालयमा ताला लगाएका हुन् ।

सङ्घर्ष समितिले गोदावरी नगरपालिका–९ का वडाध्यक्ष रामलाल रानालाई असोज ७ गते ज्ञापनपत्र बुझाएको थियो । वडाध्यक्ष रानाको गोदावरी नगरपालिका र प्रदेश सरकारसम्म पहुँच नभएकाले वडामा योजना नआएका उनीहरूको आरोप छ । धनगढी–सेहरी–मुर्कटी सडकमा ग्राभेलसमेत नगरेको भन्दै उनीहरूले गोदावरी नगरपालिकाको कार्यालय घेराउ गरेका थिए । नगरपालिकामा भएको छलफल निष्कर्ष विहीन भएपछि चार दिनदेखि वडा कार्यालयको काम प्रभावित भएको छ ।

गोदावरी–९ का स्थानीयको कृषि उत्पादनको बिक्री, रोजगार तथा काम गर्न, औषधी–उपचारका लागि धनगढी आउनु पर्ने हुन्छ। तर, सडकमा खाल्डै खाल्डा रहेकाले समस्या हुने गरेको स्थानीय गगन साउँदले बताए
गोदावरी नगरपालिका–९ का गर्भवती महिला र धनगढी कामको लागि आउने महिलाहरूलाई बढी सास्ती रहेको छ । उनीहरूले वडा कार्यालयसम्म आउन समेत सडकको समस्या रहेको बताएका छन् ।






























