
फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रमसहित मनाइँदै छ। यस वर्ष शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार धूमधामका साथ मनाउँदै छन्।


नयाँ वर्षको रूपमा मनाइने ग्याल्पो ल्होसार १२ वर्गमा विभाजित छ, जसमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र वराह पर्छन्।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ। इतिहासअनुसार, भोटका नवौँ राजा उदे गुङ्ग्याल को पालादेखि यो पर्व वसन्त पर्व का रूपमा मनाउन थालिएको हो। पछि यसको नाम ग्याल्पो ल्होसार राखिएको अनुसन्धानकर्ता टीका शेर्पा बताउँछन्। यो ल्होसारलाई कतै ग्याल्पो त कतै ग्याल्बो उच्चारण गरिन्छ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ। शेर्पा समुदायको बसाइँसराइसँगै यस पर्व मनाउने क्षेत्र विस्तार भएको हो। यसअघि पुस १५ मा गुरूङ समुदायले तमु ल्होसार तथा माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार मनाइसकेका छन्।































