
आइतबार दिउँसो शिक्षक आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सक डा. सिभान्त श्रेष्ठका अनुसार कार्कीको दुवै आँखाको भित्री भागमा गम्भीर चोट लागेको छ।

उनका अनुसार आँखाको लेन्स सुन्निएको र भित्र रगत जमेको (हाइफिमा) अवस्थामा छ, जसका कारण भिजन निकै कम भएको छ। साथै आँखाको छालाको माथिल्लो भाग च्यातिएको र आँखामा दबाव (प्रेसर) पनि असामान्यरूपमा बढेको डा. श्रेष्ठले बताइन्।
“आँखाभित्रको नशा भागसम्म हेर्न सकिएको छ तर रेटिनाको अवस्था स्पष्ट छैन,” डा. श्रेष्ठले भनिन्। उपचार सुरु गरिए पनि आँखाभित्र रगत जमिएकाले दृश्य क्षमता प्रभावित भएको उनले जानकारी दिइन्।

भिडियो एक्सरे (B-Scan) बाट परीक्षण गर्दा आँखाको पर्दा (रेटिना) च्यातिएको भने देखिएको छैन। तर, रगत जम्दा र सूजनका कारण केही भागहरू प्रष्टसँग देखिएको छैन।

“अहिले औषधि प्रयोग भइरहेको छ। सूजन र रगतको जमावट घटेपछि मात्र आँखाको वास्तविक अवस्था र थप उपचार आवश्यकताको मूल्याङ्कन गर्न सकिन्छ,” डा. श्रेष्ठले भनिन्।
उनका अनुसार बाहिरी चोटको निको हुन केही समय लाग्नेछ। त्यसपछि आवश्यक परे सर्जरीसहित एन्टिबायोटिक र स्टेरोइड उपचार गरिनेछ। सीटी स्क्यानबाट थप जाँच गर्ने तयारी पनि भइरहेको छ।
डा. श्रेष्ठले थप भनिन्, “अहिले आँखाको भिजन अत्यन्त कमजोर छ। रेटिनामा गहिरो चोट परेको खण्डमा निको हुन लामो समय लाग्न सक्छ।”





























