
स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले दोस्रो जित हात पारेको छ। बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो।

१७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो। ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौका सहित ६५ रनको प्रभावशाली पारी खेले। आरिफ शेखले ३९ रन बनाए भने टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका भीम सार्कीले संयमित २७ रन जोडे।
नेदरल्याण्ड्सका बलरहरूमध्ये बेन फ्लेचर, आर्यन दत्त, रोलफ भान डर मर्वे र जाच लायन काचेटले समान रूपमा १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। ओपनर माइकल लेभिटले आक्रामक शैलीमा ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८६ रन बनाए। भान डर मर्वेले अन्तिममा २१ बलमा अविजित ३६ रन जोडे।

४५–४ को अवस्थामा संकटमा परेको नेदरल्याण्ड्सलाई लेभिटले साकिब जुल्फिकरसँग ६३ रनको साझेदारी गर्दै उकासे। त्यसपछि मर्वेले आर्यन दत्तसँग ४५ रनको साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पु¥याए।
नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन खर्चिएर २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप लामिछाने र रुपेश सिंहले समान १-१ विकेट लिए।
शृंखलामा नेपालले अब अन्तिम खेल शुक्रबार स्कटल्याण्डसँग खेल्नेछ।





























