
देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले अधिकांश स्थानमा मौसम आंशिकदेखि सामान्य बदलीमा सीमित छ।

लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागहरूमा सामान्य बदली छ भने अन्य स्थानहरूमा आंशिक बदली देखिएको छ। बागमती प्रदेशका केही स्थान र कोशी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी र मधेस प्रदेशका तराई भूभागमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।


आज रातिको मौसम पनि पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा तथा अन्य स्थानका थोरै भूभागमा चट्याङसहित वर्षाको सम्भावना छ। मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना कायम छ।
मनसुनी गतिविधि कमजोर भएका कारण दिउँसोको समयमा गर्मी यथावत् रहनेछ। यस्तो अवस्थामा उच्च तापमान, हावाहुरी र आकस्मिक वर्षाबाट सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्।




























