
डोटी जिल्लामा कलिलो उमेरमै आमा बन्ने महिलाको संख्या बढ्दै गएको छ। स्वास्थ्य कार्यालय डोटीका अनुसार पछिल्ला दुई आर्थिक वर्षमा २० वर्ष नपुग्दै ६ सयभन्दा बढी महिलाले सुत्केरी भएको तथ्यांक सार्वजनिक भएको छ।

आर्थिक वर्ष २०८१/८२ मा दुई हजार पाँच सय ८५ मध्ये तीन सय २० जना (१२.७६ प्रतिशत) र २०८०/८१ मा दुई हजार सात सय नौ मध्ये दुई सय ७६ जना (१० प्रतिशत) २० वर्ष नपुग्दै आमा बनेका छन्। यसले डोटीमा बालविवाहको समस्या अझै गम्भीर रहेको देखाउँछ।
गाउँपालिकागत विवरण हेर्दा बडीकेदार गाउँपालिकामा सबैभन्दा बढी २८.५२ प्रतिशत किशोरी आमा बनेका छन्। त्यस्तै जोरायलमा १७.२९, पूर्वी चौकीमा १५.७७, आदर्शमा ११.४२, सायलमा ९.६५, शिखर नगरपालिकामा १२ र दिपायल सिलगढी नगरपालिकामा ८ प्रतिशत किशोरी आमा भएका छन्। केआई सिंह गाउँपालिकामा भने यो दर सबैभन्दा कम ५ प्रतिशत मात्र रहेको छ।
नेपालको कानुन अनुसार विवाहको उमेर केटा–केटी दुवैको लागि २० वर्ष तोकिएको छ। २० वर्ष नपुगी विवाह गर्ने वा गराउनेलाई तीन वर्षसम्म कैद र ७५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था बालबालिका सम्बन्धी ऐन, २०७५ मा भए पनि डोटीमा बालविवाह रोकथाम चुनौतीपूर्ण देखिन्छ।
यद्यपि, जिल्लामा सुत्केरी हुने महिलामध्ये अधिकांशले स्वास्थ्य संस्था रोजेका छन्। आर्थिक वर्ष २०८१/८२ मा ९७.३७ प्रतिशत र अघिल्लो वर्ष ९६.७८ प्रतिशत महिलाले स्वास्थ्य संस्थामै सुत्केरी भएका छन्।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी कपिलदेव जोशीका अनुसार संस्थागत सुत्केरीको दर उत्साहजनक भए पनि बालविवाहका कारण कम उमेरमा आमा बन्नेको संख्या घटाउन अझ प्रभावकारी जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको छ।





























