
देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले मौसममा आंशिक परिवर्तन देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार तराई भू–भागका अधिकांश स्थानमा दिउँसो हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। यसका कारण हाल तराईका धेरै क्षेत्र हुस्सुले ढाकिएका छन्।

महाशाखाले आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ भने उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना कायमै छ भने तराईका केही स्थानमा हुस्सु रहनेछ।

महाशाखाले तराईमा हुस्सुको प्रभावले जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन र दैनिक रूपमा जारी हुने मौसमी सूचना नियमित रूपमा अवलोकन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।































