
नेपालमा आगामी दुई दिन मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार विशेष मनसुन बुलेटिन जारी गर्दै १६ असार (मंगलबार) र १७ असार (बुधबार) देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो।

महाशाखाका अनुसार मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुन सक्नेछ। ती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको पूर्वानुमान गरिएको छ।
लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, शहरी तथा तराईका होचा क्षेत्रमा डुबान हुन सक्ने र पहाडी भूभागमा पहिरोको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


यस्तै, मेघगर्जन र चट्याङबाट जनधनको क्षति हुन सक्ने भएकाले सुरक्षित स्थानमा बस्न, अनावश्यक यात्रा नगर्न तथा यात्रा गर्नै परे विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
महाशाखाले मौसमसम्बन्धी पछिल्लो अद्यावधिक जानकारी नियमित रूपमा हेर्दै स्थानीय तह, सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
































