
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तुवाँलो लागेको छ भने पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो रहने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि तराई भूभागका केही स्थानमा हुस्सु कायम रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जानकारी दिएको छ।
































