
मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। यसका कारण कोशी र मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा तुवाँलो लागेको छ भने देशको हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा गण्डकी प्रदेशका यस्तै भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ। यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातसहित वर्षा र अन्य प्रदेशका यस्तै भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ।

साथै कर्णाली र सुदूरपश्चिमसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा तराईका थोरै स्थानमा हल्का वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा चट्याङको सम्भावना रहेको महाशाखाले जनाएको छ।






























