
जेनजी आन्दोलनपछिको विशेष राजनीतिक परिवेशमा प्रतिनिधिसभा सदस्यका लागि आज देशभर मतदान हुँदैछ। बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म ७७ वटै जिल्लामा एकै चरणमा मतदान सञ्चालन हुनेछ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात् यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन सम्पन्न भएको थियो।

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान हुँदैछ। प्रत्यक्षतर्फ ६५ राजनीतिक दलका उम्मेदवारले ६१ चुनाव चिह्नमा प्रतिस्पर्धा गरिरहेका छन्। यस प्रणालीअन्तर्गत तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्, जसमध्ये तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य छन्। समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।

यस निर्वाचनमा एक करोड ८९ लाखभन्दा बढी मतदाता सहभागी हुने अपेक्षा गरिएको छ। देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्। सुरक्षा व्यवस्थाका लागि सेना, प्रहरी र अन्य सुरक्षाकर्मी गरी ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको छ। निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन आयोगले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।
































