
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक गरेको छ। सबैभन्दा अन्तिम नतिजा संखुवासभाबाट सोमबार राति सार्वजनिक भएको हो। उक्त क्षेत्रमा नेकपा (एमाले)का अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङ्मा शेर्पालाई पराजित गर्दै विजयी भएका छन्।

यसैबीच उम्मेदवारी खारेजपछि विवादमा परेको धनुषा–१ मा आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादवलाई विजयी घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको छ। रास्वपाका उम्मेदवारले उम्मेदवारी खारेजको विषयलाई लिएर अदालतमा मुद्दा दायर गरेका छन्।

प्रत्यक्षतर्फको परिणामअनुसार रास्वपाले सबैभन्दा बढी १२५ सिट जितेको छ। नेपाली कांग्रेसले १८, नेकपा (एमाले)ले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सिट जितेका छन्। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन पनि विजयी भएका छन्।

फागुन २१ गते सम्पन्न निर्वाचनमा २७५ सदस्यीय प्रतिनिधिसभा गठनका लागि मतदान भएको थियो। समानुपातिकतर्फ करिब एक करोड मत गणना भइसकेको छ र प्रारम्भिक परिणामले रास्वपा उल्लेख्य अग्रतामा रहेको देखाएको छ। साथै रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले तीन प्रतिशत थ्रेसहोल्ड पार गरेका छन्।
































