
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा ले हाल नेपाल मा पश्चिमी वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको जनाएको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा बादल लाग्ने र केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि घना बादल लागेको छ भने अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशका केही पहाडी स्थान तथा बागमती प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश का पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।

महाशाखाले आज राति पनि हिमाली भूभागमा सामान्यतया बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
































