
प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुसन्धान अधिकृतहरूले त्रिवि शिक्षण अस्पतालमै बयान लिएका छन्। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमनका क्रममा भएको घटनामा पक्राउ परेका ओली उपचाररत अवस्थामा प्रहरी निगरानीमै छन्।

अनुसन्धान अधिकृत तथा सरकारी वकिलको टोलीले ओलीसँग ३५ भन्दा बढी प्रश्न सोधेको जनाएको छ। बयानका क्रममा ओलीले बानेश्वरमा भएको घटनामा लेथल हतियार प्रयोग गरी गोली चलाउन आफूले आदेश नदिएको स्पष्ट पारेका छन्। उनले यस्तो निर्णय जिल्ला तहबाट हुने भन्दै आफ्नो संलग्नता अस्वीकार गरेका हुन्।
ओलीका अनुसार भदौ २२ मा सुरक्षा निकायसँग भएको छलफलमा आन्दोलन शान्तिपूर्ण हुने जानकारी दिइएको थियो। उनले सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको तर बल प्रयोग गर्ने निर्णय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने बताएका छन्।


त्यसैगरी, घटनापछि बसेको मन्त्रिपरिषद् बैठकले निष्पक्ष छानबिनका लागि आयोग गठन गर्ने, घाइतेको उपचार र मृतकका परिवारलाई राहत दिने निर्णय गरेको पनि उनले उल्लेख गरेका छन्।
काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार बिहीबार मध्यराततिर ओलीसँगको बयान सम्पन्न भएको हो।































