
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा मंगलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित २२ जना घाइते भएका छन्।

प्रहरीका अनुसार धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको ‘शिवपुरी लक्जरी कोच’ बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको हो। दुर्घटनाका बेला बसमा चालकसहित ४६ जना सवार थिए।

दुर्घटनामा घाइते भएका सबैको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूलाई तौलिहवास्थित जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि क्रेनको सहायताले बसलाई सडकबाट हटाइएको थियो। त्यसपछि अवरुद्ध भएको सडक खुलाएर सवारी आवागमन पुनः सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।































