
प्रतिनिधिसभाको सभामुख पदमा सांसद डीपी अर्याल निर्विरोध भएका छन्। आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको मनोनयन दर्ता अवधिमा अर्यालको मात्र उम्मेदवारी परेको हो। यद्यपि, उनको निर्वाचित घोषणा भने आगामी प्रतिनिधिसभा बैठकमा औपचारिक रूपमा गरिनेछ।

प्रतिनिधिसभा नियमावलीअनुसार एकल उम्मेदवारी परेको अवस्थामा प्रस्तावक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ। संसदको बैठक आगामी आइतबार बस्ने तय भएको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत नजिक रहेकाले अन्य दलहरूले सभामुख पदमा उम्मेदवारी नदिएको जनाइएको छ। सत्तापक्ष रास्वपाका १८२ सांसद छन् भने कांग्रेस ३८, एमाले २५, कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७ र राप्रपा ५ सांसद छन्।


सभामुख चयनसँगै उपसभामुख निर्वाचन प्रक्रिया अघि बढ्नेछ। उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुने व्यवस्था छ। संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने प्रावधान रहेको संसद सचिवालयले जनाएको छ।
निर्वाचित सभामुखले राष्ट्रपतिबाट शपथ लिएपछि कार्यभार सम्हाल्नेछन्। उपसभामुखले भने सभामुख समक्ष शपथ लिने व्यवस्था छ।































