
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा चट्याङ, हावाहुरी, असिना र वर्षासहितको प्रतिकूल मौसम रहने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव सक्रिय छ, जुन भोलिदेखि अझ बढ्ने सम्भावना रहेको छ। यसले विशेषगरी पश्चिम नेपालमा बिहानैदेखि प्रभाव पार्ने र दिउँसोसम्म काठमाडौं उपत्यकासम्म पुग्ने अनुमान गरिएको छ।
बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहने विभागले जनाएको छ। ती प्रदेशका धेरै स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।


त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुने सम्भावना समेत रहेको छ। मधेस, बागमती, कोशी र लुम्बिनीका तराई क्षेत्रमा पनि केही स्थानमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।
मौसमविद् लामिछानेले मौसमको अवस्थाअनुसार सतर्क रहन र आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्। बिहीबार पनि देशभर बदली कायम रहने विभागले जनाएको छ।
































