
कोशी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता भएका १९ योजनाको काम अझै सुरु नभएको पाइएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजन भइसके पनि निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै काम अघि नबढाएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख विमन दाहालका अनुसार पटक–पटक ताकेता गर्दा पनि काम सुरु नगरेपछि सम्बन्धित कम्पनीलाई अन्तिम सूचना जारी गरिएको छ। तोकिएको समयभित्र काम नगरे दैनिक ०.०५ प्रतिशत जरिवाना, कार्यसम्पादन जमानत जफत र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

यसअघि २६ योजनामध्ये सातवटामा मात्र काम सुरु भएको छ भने आठ योजना जग्गा विवादका कारण रोकिएका छन्। करिब एक अर्बभन्दा बढी बजेट उपलब्ध भए पनि कार्यान्वयनमा ढिलाइ देखिएको छ। कार्यालयले गुणस्तरीय काम समयमै सम्पन्न गर्न प्राविधिक निगरानी कडा बनाउने जनाएको छ।































