के योग्यले न्याय पाउलान् ?

Image
Nisarga Hospital

विगतका ती नमीठा अनुभवहरू सम्झिँदा आज पनि मनमा एउटा प्रश्न उब्जिन्छ— के अब साँच्चै शुद्ध ढंगले उपकुलपति बन्न योग्य व्यक्तिले न्याय पाउलान्? यो मेरो कुनै काल्पनिक कथा होइन, बरु शैक्षिक क्षेत्रको बेथितिभित्र मैले भोगेको आफ्नै यथार्थ र व्यथा हो।

CP Hospital Dhangadhi

​यस्ता अनेकन् उदाहरणहरूमध्ये एउटा प्रतिनिधि घटना यहाँ उल्लेख गर्न चाहन्छु:

​१. विगतमा विभिन्न विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि छनौट समितिले पटक-पटक मेरो नाम सिफारिस गरेकै हो। मेरो योग्यतामाथि विश्वास गरेर नाम सिफारिस गरिदिने ती छनौट समितिका आदरणीय सदस्यहरूप्रति म सधैँ अनुगृहित रहनेछु।

nawajiwan

​२. तर, मलाई त्यतिखेर सम्म यो ज्ञान थिएन कि उपकुलपति नियुक्त हुनका लागि केवल प्राज्ञिक योग्यता मात्र पर्याप्त नभएर केही ‘विशेष प्रकारका योग्यता’ पनि चाहिने रहेछ।

​३. करिब १० वर्षअघि एउटा विश्वविद्यालयको उपकुलपति सिफारिस सूचीमा मेरो नाम समावेश भयो। त्यतिखेर मात्र ममा दुईवटा ‘अदृश्य योग्यता’ को कमी रहेको यथार्थ खुल्यो।

​४. सिफारिसमा नाम परेपछि विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूको फोन व्यवस्थापन गर्न मलाई हम्मे-हम्मे नै प-यो।

​५. यहाँसम्म कि तत्कालीन सत्ताको बागडोर सम्हालेका शक्ति केन्द्रका कार्यकर्ताहरूले “तपाईंसँग एकपटक बसेर विश्वविद्यालयको बारेमा कुरा गर्न हाम्रो पार्टीले चाहेको छ” भन्दै भेट्ने प्रस्ताव राखे।

​६. भेटघाटको समय बालुवाटारस्थित ‘नेपाल हाउस’ मा तय भयो। त्यहाँ पुग्दा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूको अनौठो भीड देख्न पाइन्थ्यो।

​७. मसँग भेट्नका लागि एउटा छुट्टै टेबलको व्यवस्था गरिएको थियो। करिब ७-८ जना कार्यकर्ताहरूले मलाई स्वागत गरे। तीमध्ये सम्बन्धित दलका एक केन्द्रीय सदस्य पनि थिए, जो मलाई देख्नेबित्तिकै बाहिरिए। सायद शिक्षासम्बन्धी विभिन्न कार्यक्रमहरूमा हामीले एक-अर्कालाई राम्ररी चिनेकाले उनलाई त्यहाँ बस्न असहज भयो होला।

​८. उनी बाहिरिनुको रहस्य तब खुल्यो, जब बाँकी रहेका कार्यकर्ताहरूले सिधै ‘बार्गेनिङ’ सुरु गरे। उनीहरूले सोधे— “फलाना व्यक्तिले २ करोड दिने भयो, तपाईं कति दिन सक्नुहुन्छ?”

Attariya Hospital

​९. उनीहरूको कुरा सुन्दा म छाँगाबाट खसेझैँ भएँ। त्यतिन्जेल उनीहरूले के-के अर्डर गरेर खाए, मैले भने केवल एक गिलास जुस लिएको थिएँ।

​१०. उनीहरू मेरो जवाफको व्यग्र प्रतीक्षामा थिए। म जुरुक्क उठें र भनें— “म उपकुलपति पद खरिद गर्न सक्दिनँ, मेरो नैतिकताले यो दिँदैन। यो कुरा तपाईंको पार्टी प्रमुखलाई पनि स्पष्ट भनिदिनुहोला।” मैले थपेँ— “यदि मसँग त्यति ठूलो रकम हुँदो हो त म कुनै शिक्षा केन्द्र खोलेर गरिबका छोराछोरीलाई पढाउँथेँ।” बोलाउनुभएकोमा धन्यवाद दिँदै उनीहरूले खाएको खाजाको रू. २,३४० बिल आफैँले तिरेर म त्यहाँबाट बाहिरिएँ।

​११. भोलिपल्ट अर्को दलको फोन आयो। उनले भने— “यो विश्वविद्यालयको जिम्मेवारी पार्टीले मलाई दिएको छ। यदि तपाईं हाम्रो दललाई सहयोग गर्न सक्नुहुन्छ भने हामी तपाईंलाई VC बनाउँछौँ।” मैले जिज्ञासा राखेँ— “कस्तो सहयोग?” जवाफ आयो— “हाम्रा केही मान्छेलाई जागिर दिने लिखित ग्यारेन्टी र एउटा मेडिकल कलेजको सम्बन्धन।” मैले उतिबेलै जवाफ दिएँ— “त्यो वचन म कदापि दिन सक्दिनँ, बरु उपकुलपति नभए पनि केही छैन।” यो संवाद हिजैजस्तो लाग्छ।

​१२. त्यसपछि मैले एउटा कठोर सत्य बुझेँ— उपकुलपति हुन कि त राजनीतिक दलको ‘भरिया’ बन्नुपर्ने रहेछ, कि त ‘ब्रिफकेस’ बुझाउनुपर्ने रहेछ। म यी दुवै योग्यतामा असफल भएँ।

​१३. आज यी कुराहरू किन लेख्नुप-यो भने, यस्ता घटना मैले पटक-पटक भोगेको छु र म कहिल्यै उपकुलपति भइनँ। तर, मलाई गर्व छ— त्यही निष्ठाका कारण आज म समाजमा शिर ठाडो पारेर हिँड्न सकेको छु।

​१४. अहिले माहोल फेरिएको छ। कम्तीमा अहिले न तपाईंले दलको भरिया बन्नुपर्छ, न ब्रिफकेस नै बुझाउनुपर्छ। त्यसैले, कार्यविधिले तोकेको योग्यता पुगेका सम्पूर्ण विद्वान् वर्गलाई म निर्धक्क भएर आवेदन दिन अनुरोध गर्दछु।

​१५. यहाँ मैले कुनै पनि दल वा व्यक्तिको नाम उल्लेख नगर्नु मेरो नैतिक जिम्मेवारी हो। विगतको उपकुलपति छनौटको विद्रूप तस्विर बुझ्न यो एउटा उदाहरण नै काफी छ।
​१६. बुझ्नेलाई यति नै काफी छ।

​१७. अब उमेरले डाँडा काट्दै छ। मभन्दा योग्य र दक्ष व्यक्तिहरू धेरै हुनुहुन्छ। मेरो एउटै चाहना छ— अब उपकुलपति पदमा सही र योग्य व्यक्तिले स्थान पाऊन्। मेरो हार्दिक शुभकामना!

✍️ प्रा. डा. मन प्रसाद वाग्ले
काठमाडौँ विश्वविद्यालय