
नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म फैलिएको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण देशका अधिकांश भूभागमा मौसम बदली भई वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। साथै मधेश प्रदेशसहित विभिन्न तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा नियमित रूपमा अद्यावधिक रहन मौसमविद्ले आग्रह गरेका छन्।
































