
नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशभर मौसममा परिवर्तन देखिएको छ। कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। साथै कोशी प्रदेशका थोरै स्थान, गण्डकी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

तराईका केही भागमा तातो दिनको अवस्था रहन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। विभागले नियमित रूपमा बिहान ८ बजे र बेलुका ६ बजे मौसम बुलेटिन अद्यावधिक गरिने जनाएको छ।
































