
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचन थप रोचक बनेको छ। उम्मेदवारी फिर्ता लिने क्रम जारी रहँदा अब एक पदका लागि पाँच जना उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुने भएको छ।

महामन्त्री पदका लागि प्रारम्भमा १० जनाले उम्मेदवारी दर्ता गरेका थिए। यसअघि जगदीश खरेल र कविन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएपछि आठ जना चुनावी मैदानमा रहेका थिए। निर्वाचन आयोगले आठ जनाको अन्तिम सूची सार्वजनिक गरेलगत्तै प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र गणेश पराजुलीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

उम्मेदवारी फिर्तासँगै अब महामन्त्री पदका लागि मनिष झा, रन्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्यबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।

रास्वपाको प्रथम महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको निर्वाचनलाई पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ। उम्मेदवारको संख्या घटेसँगै महामन्त्री पदको प्रतिस्पर्धा अझ केन्द्रित र रोमाञ्चक बनेको छ।
































