
काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बर्डफ्लू (एच–फाइभ एन–वान) संक्रमण तीव्र रूपमा फैलिन थालेपछि पशुसेवा विभागले उच्च सतर्कता अपनाएको छ। विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भएको छ। ४ चैत २०८२ मा मोरङबाट सुरु भएको संक्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी हुँदै काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म फैलिएको हो।

संक्रमण नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजार ८५८ पन्छी, ९ लाख ८९ हजार ३१३ अण्डा तथा १ हजार ९५४.८५ क्विन्टल दाना नष्ट गरिएको विभागले जनाएको छ। हाल कोशी प्रदेशका झापा, मोरङ, सुनसरीसहित बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको भए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा अझै जोखिम कायम छ।

विभागले ‘बर्डफ्लू रोग नियन्त्रण कक्ष’ स्थापना गरी प्राविधिक टोली परिचालन गरेको छ। साथै, किसानलाई बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ पालना गर्न, भेटेरिनरी प्रमाणपत्रबिना पन्छी ओसारपसार नगर्न तथा अस्वाभाविक रूपमा पन्छी बिरामी वा मरेमा तत्काल पशुसेवा कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।

































